सभामुखमा डीपी अर्यालको चर्चा: रास्वपाभित्र आन्तरिक गृहकार्य तीव्र

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १५:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको सभामुख चयनका लागि आन्तरिक गृहकार्य तीव्र पारेको छ। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार दिउँसो २ बजेका लागि संसद्को पहिलो बैठक आह्वान गरेसँगै रास्वपाले आगामी आइतबारदेखि सभामुख छनोटको औपचारिक प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

सभामुखका लागि रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम करिब निश्चित भएको पार्टी स्रोतले बताएको छ। दुई पटक श्रममन्त्री भइसकेका र सभापति रवि लामिछाने हिरासतमा रहँदा कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालेका अर्याललाई नै सभामुख बनाउनुपर्ने पक्षमा पार्टीका अधिकांश नेताहरू उभिएका छन्।

राजनीतिक सुझबुझ र समन्वयकारी भूमिका खेल्न सक्ने भएकाले उनको विकल्प नखोजिएको एक पदाधिकारीले बताए। यसअघि अर्याल गृह मन्त्रालयको दाबेदार भए पनि सुधन गुरुङ गृहमन्त्री बनेपछि उनलाई संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने गरी सभामुख बनाउन लागिएको हो।

पार्टी सहमहामन्त्री विपिन कुमार आचार्यले दुई–तीन दिनभित्र सभामुख चयनको प्रक्रिया अघि बढ्ने बताए। सभामुख रास्वपाले पाउने निश्चित भए पनि उपसभामुख कुन दललाई दिने भन्नेमा भने अझै टुङ्गो लागेको छैन। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले नेपाली कांग्रेस, राप्रपा, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीमध्ये एकलाई उपसभामुख दिनेबारे छलफल भइरहेको छ।

विशेषगरी संविधान संशोधनमा सहकार्य गर्न सहज हुने भन्दै नेकपालाई उपसभामुख दिनेबारे रास्वपाका केही नेताहरू सकारात्मक देखिएका छन्।

यसैबीच, सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन र पार्टीसँग समन्वय गर्न सभापति रवि लामिछानेले १० जना विज्ञहरूको टोली निर्माण गर्ने गृहकार्य थालेका छन्। एक मन्त्री बराबर चार जना विशेषज्ञ सांसद रहने गरी टिम बनाउन लागिएको हो। संसद् बैठक सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण आगामी साता राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.