चट्याङसहित वर्षा र हिमपातको सम्भावना

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार ०६:३४

काठमाडौं । देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (बिहीबार) मेघगर्जन (चट्याङ)सहित वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले विभिन्न क्षेत्रमा मौसममा बदली देखिएको छ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश भागमा मौसम अपेक्षाकृत सफा छ ।

यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो विशेषगरी हिमाली र पहाडी क्षेत्रमा बदली कायम रहनेछ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई क्षेत्रका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्र आंशिक बदलीमा रहनेछन् । बाँकी तराई भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने राति पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी यात्रु, पर्वतारोही र स्थानीयलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र आवश्यक काम गर्न सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.