
विराटनगर । संखुवासभामा मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाँचखपन नगरपालिका–४ खानीगाउँमा प्र १–०२–००३ त ३८६६ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । वानबाट टिमुरेतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा परेर सोही ट्याक्टरमा काम गर्ने पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता, डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार गुडिरहेको ट्याक्टरबाट खसेर चक्कामुनि परेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक पाँचखपन–३ का अन्दाजी १८ वर्षीय विकाश दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कच्ची सडक र चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
























