नापी कार्यालयमा बिचौलियालाई प्रवेश निषेध, सेवाग्राहीले परिचयपत्र देखाउनुपर्ने

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १२:४१

काठमाडौं। नापी विभागले देशभरका आफ्ना मातहतका कार्यालयहरूमा बिचौलियाको प्रवेशलाई पूर्ण रूपमा निषेध गर्न कडा निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारपछि विभागले सबै नापी कार्यालयहरूलाई परिपत्र गर्दै सेवा प्रवाहलाई पारदर्शी र गुनासो रहित बनाउन यस्तो कदम चालेको हो।

अबदेखि नापी कार्यालयमा प्रवेश गर्न चाहने जोसुकैले पनि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्ने व्यवस्था मिलाइएको छ। कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश रोक्न र बिचौलियाको चलखेल अन्त्य गर्न परिचयपत्र हेरेर मात्र प्रवेश दिने प्रणाली कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले यो निर्देशन कार्यान्वयन भए वा नभएको बारे जुनसुकै बेला आकस्मिक अनुगमन गर्न सक्ने चेतावनी समेत दिएको छ। अनुगमनका क्रममा निर्देशन पालना नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्‍याइने मन्त्रालयको पत्रमा उल्लेख छ। विभागले सोही व्यहोराका आधारमा मातहतका सबै कार्यालयलाई सतर्क गराएको छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले अनिवार्य रूपमा आफ्नो परिचयपत्र लगाउनुपर्नेछ। सेवाग्राहीहरूले पनि आवश्यक निवेदन वा कामसँग सम्बन्धित कागजात देखाएर मात्र कार्यालयभित्र प्रवेश पाउनेछन्। कार्यालयमा हुने अनावश्यक भिडभाड कम गर्न र सेवालाई व्यवस्थित बनाउन यो नियम अविलम्ब कार्यान्वयन गर्न देशभरका नापी कार्यालयलाई भनिएको छ। यस कदमले सर्वसाधारणले झन्झटमुक्त सेवा पाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.