संविधान संशोधनका नाममा गणतन्त्रमा सम्झौता हुँदैन : पुन

Share this
819shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १६:२७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिहरूमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको मूल राजनीतिक ढाँचा र सामाजिक न्यायको मुद्दामा आफ्नो पार्टी अडिग रहने बताएका हुन्।

सांसद पुनले राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारलाई सहयोग गर्न नेकपा सधैँ तयार रहेको उल्लेख गरे। उनले विगतमा कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको विशाल जनमतको सही सदुपयोग गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै नवनिर्वाचित शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका गल्तीबाट पाठ सिक्न सुझाव दिए।

२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले पाएको भारी जनसमर्थन र २०७४ सालको निर्वाचनपछि बनेको झन्डै दुई तिहाइ बहुमतको सरकारले अवसर पाएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्मरण गरे। “हामीले जनमतको सदुपयोग गर्न जानेनौँ र सकेनौँ, हाम्रा यस्ता कमजोरीबाट शिक्षा लिएर नयाँ शक्तिले देश र पार्टीलाई अगाडि बढाओस्,” उनले सदनमा भने।

सामाजिक न्याय र समाज रूपान्तरणको सवालमा सरकारले चाल्ने सकारात्मक कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पुनले व्यक्त गरे। तर, संविधान संशोधनको बहस चलिरहँदा गणतन्त्र र समावेशीता जस्ता आधारभूत स्तम्भहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले चेतावनी दिए।

उनले सरकारलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गर्दै राष्ट्रिय हित र जनजीविकाका सवालमा नेकपाले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे। नयाँ राजनीतिक परिस्थितिमा सबै दलहरू मिलेर मुलुकलाई निकास दिनुपर्नेमा उनले जोड दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.