
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा १जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार अपराह्न २ बजे दोक्किलेबाट सुभाङतर्फ कुच्चो बोकेर जाँदै गरेको मे १ च ६०२९ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल पाँचथर पुर्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटी सामान्य घाइते छन् र उनको अस्पतालमा उपचार भइरहेको छ ।
पिकअप चालक झापाको बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली पनि सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनालगत्तै जोरपोखरी प्रहरी चौकीबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो ।
























