पश्चिम एसियाबाट नेपालीको उद्धार गरिँदै

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ०६:३०

काठमाडौं । पश्चिम एसियामा बढ्दो द्वन्द्व र असुरक्षा अवस्थाका कारण समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले विशेष उडान सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने उडानमार्फत त्यहाँ अलपत्र परेका नेपालीलाई उद्धार गरिनेछ । सरकारका अनुसार नेपाल वायुसेवा निगमले अप्रिल ३ मा काठमाडौं–दुबई, अप्रिल ४ मा दुबई–काठमाडौं तथा अप्रिल ५ मा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान गर्ने तालिका तय गरेको छ । नियमित उडानहरू गत फेब्रुअरी २८ देखि स्थगित रहेकाले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै विशेष व्यवस्था गरिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा चैत १७ गते बसेको बहुपक्षीय बैठकले उद्धार र आवागमनलाई सहज बनाउने निर्णय गरेको थियो । सो बैठकमा परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारी सहभागी थिए ।

विशेष उडानमार्फत स्वदेश फर्किन चाहने तथा गन्तव्य मुलुक जान नपाएका नेपालीलाई सहजीकरण गरिने जनाइएको छ । साथै, उडानका क्रममा आवश्यक बीमा व्यवस्थालाई सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले उद्धार कार्यमा समन्वय गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गर्दै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.