त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल पुगे गृहमन्त्री

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १०:१९

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै व्यस्त देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि राति करिब १० बजे सिधै अस्पताल पुगेका हुन् । उनले त्यहाँ घाइतेहरूको उपचार अवस्थाका बारेमा जानकारी लिएका छन् ।

अस्पतालमा उपचाररत घाइतेहरू र चिकित्सक टोलीसँग भेट गर्दै उनले हालको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत जानकारी लिएका थिए । केही घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै गम्भीर अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद तथा चिकित्सक डा. सुनील शर्माले निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार शुल्क नलिई सेवा दिएको भन्दै गृहमन्त्री गुरुङले उनलाई धन्यवाद दिए ।

भेटका क्रममा मन्त्री गुरुङले घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । साथै, उनले राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । परिवारका सदस्यहरूले सरकारको प्रत्यक्ष चासोप्रति धन्यवाद व्यक्त गरेका छन् । अस्पतालमा अझै केही घाइते अचेत अवस्थामा रहेको र विशेष निगरानीमा उपचार भइरहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।

आन्दोलनका घाइतेहरूको उपचारमा निजी र सरकारी क्षेत्रको सहकार्यले सहजता आएको बताइएको छ । गृहमन्त्रीको अस्पताल भ्रमणलाई घाइतेप्रति सरकारको संवेदनशीलता र मानवीय चासोका रूपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.