
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षभित्र मोबाइल फोन लगायतका विद्युतीय उपकरण लैजान रोक लगाएका छन्। मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि उनले शुक्रबार यस्तो निर्णय लिएका हुन्।
मन्त्री पौडेलका अनुसार मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने गरेका थिए। त्यस्ता तस्बिरकै भरमा सर्वसाधारण र सरकारी निकायबाट गलत फाइदा उठाउन खोजेको सूचना प्राप्त भएपछि मन्त्री र उनको सचिवालयले यसलाई गम्भीर रूपमा लिएको छ।
यस्ता गतिविधि नियन्त्रण गर्दै मन्त्रालयको कार्यसम्पादनलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आजैदेखि मन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध गरिएको उनले प्रस्ट पारे। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो नयाँ नियमबारे जानकारी दिँदै यसबाट आगन्तुक र कर्मचारी वर्गमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेका छन्। अबदेखि मन्त्रीसँगको भेटघाटलाई फोटो खिचाउने माध्यमभन्दा पनि काम र छलफलमा केन्द्रित बनाउने उनको उद्देश्य देखिन्छ।
























