सरकारी विज्ञापनमा ‘सिन्डिकेट’ लाद्न खोजिएको भन्दै आपत्ति

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १२:१३

काठमाडौं। सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमबाट मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले कडा आपत्ति जनाएको छ। सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमप्रति पूर्ण असहमति प्रकट गरेको हो।

सङ्घका महासचिव रघुनाथ सापकोटाले जारी गरेको विज्ञप्तिमा सरकारको यस्तो निर्णयले लोकतान्त्रिक मूल्य-मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख छ। खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई निषेध गरेर विज्ञापनमा ‘सिन्डिकेट’ लाद्न खोजिएको र यसले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई धराशायी बनाउने सङ्घको ठहर छ।

विज्ञापन प्रवाहलाई यसरी सङ्कुचित बनाउँदा अन्ततः अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने र लोकतन्त्रमा यस्तो प्रवृत्ति कदापि स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ। चलचित्र पत्रकार सङ्घ नेपालले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त फिर्ता लिन वा सच्याउन सरकारसँग जोडदार माग गरेको छ। सरकारको यो कदमले सञ्चार क्षेत्रमा कार्यरत हजारौँ सञ्चारकर्मीको भविष्यमा समेत खेलबाड गर्ने सङ्घको चेतावनी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.