एमालेद्वारा सभामुखमा उम्मेदवारी दिने तयारी

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १२:४३

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय लिन आज सचिवालय बैठक बोलाएको छ। सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले त्यसअघि नै आफ्नो रणनीति तय गर्ने भएको हो।

एमाले सांसद ऐन महरका अनुसार विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा एमालेले त्यसलाई समर्थन गर्ने सम्भावना छ। तर, यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिएमा एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। उनका अनुसार दिउँसो १ बजे बस्ने सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ।

एमालेले उम्मेदवारी दिने अवस्था आएमा उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने बुझिएको छ। अर्कोतर्फ, नेपाली कांग्रेसले भने सभामुखबारे अहिलेसम्म कुनै ठोस छलफल नभएको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवारी दिने वा नदिनेबारे पार्टीभित्र कुनै कुराकानी नभएको जानकारी दिए।

यता सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ। संसद्को वर्तमान अङ्कगणित अनुसार विपक्षी दलहरू सबै एकजुट हुँदा पनि अर्यालकै जित सुनिश्चित देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.