बयानमा ओली, ‘गोली चलाउने आदेश दिएको छैन’

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १३:०६

काठमाडौं। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन दमन गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन्।

त्रिवि शिक्षण अस्पतालमा प्रहरी घेराभित्र उपचाररत ओलीसँग सरकारी वकिल र अनुसन्धान अधिकृतको टोलीले अस्पतालमै पुगेर बयान लिएको हो।

बिहीबार राति अबेरसम्म चलेको बयानका क्रममा अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा बढी प्रश्न सोधेका थिए। काठमाडौँको बानेश्वरमा प्रदर्शनकारी किशोरहरूको मृत्यु हुने गरी घातक (लेथल) हतियार प्रयोग गर्न आदेश दिएको विषयलाई ओलीले पूर्ण रूपमा अस्वीकार गरेका छन्।

उनले बयानका क्रममा हुलदङ्गा नियन्त्रणमा गोली चलाउने आदेश आफूले नभई जिल्ला तहबाटै हुने प्रक्रिया भएको जिकिर गरे। ‘मैले गोली चलाउने आदेश दिएको होइन, यो जिल्ला तहको विषय हो,’ उनले बयानमा भनेका छन्।

आन्दोलन हुनुभन्दा अघिल्लो रात भदौ २२ गते सुरक्षा निकायसँग छलफल भएको स्वीकार गर्दै ओलीले त्यसबेला आफूलाई ६-७ हजारको हाराहारीमा प्रदर्शनकारी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने ब्रिफिङ गरिएको बताए। उनले सुरक्षा प्रमुखहरूलाई शान्ति सुरक्षा चुस्त राख्न मात्र निर्देशन दिएको दाबी गरे।

बल प्रयोग गर्ने वा नगर्ने भन्ने विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै उनले कम क्षति हुने गरी परिस्थिति नियन्त्रणमा लिन मात्र भनिएको बताए।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार ओलीसँगको बयान बिहीबार राति १२ बजेतिर सकिएको हो। बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने कानुनी अधिकार नै नहुने तर्कसमेत गरे।

बानेश्वर घटनापछि सोही साँझ मन्त्रिपरिषद् बैठक बसेर छानबिन आयोग गठन गर्ने, घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिने निर्णय गरिएको उनले जानकारी दिए। सरकारको मनसाय मानवीय क्षति नहोस् र सेना परिचालन गर्न नपरोस् भन्ने नै रहेको ओलीले बयानमा प्रस्ट पारेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.