‘पक्राउलाई प्रतिशोध भन्नु हतारो’

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १४:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘प्रतिशोध’ र ‘हतारको निर्णय’ भनी टिप्पणी गरिएको प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको नयाँ सभामुखका लागि पार्टीका उपसभापति डीपी अर्यालको मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सभापति लामिछानेले आफ्ना कलिला बालबालिका गुमाएका अभिभावकहरूलाई न्यायको जति हतारो अरू कसैलाई नहुने उल्लेख गरे। ‘पूर्वगृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो, न्याय पाउने पहिलो हक र हतारो त शहीद तथा घाइतेका परिवारलाई छ,’ उनले भने। न्याय पाउने अधिकार सबैलाई भए पनि आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारको पीडालाई राजनीतिक दाउपेचसँग जोड्न नहुने उनको तर्क छ।

आफूहरू अहिले जनताको सूक्ष्म निगरानी (पब्लिक अडिट) मा रहेको चर्चा गर्दै लामिछानेले नागरिकले हरेक गतिविधि नियालिरहेको बताए। उनले रास्वपाले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता समेत जनाए। न्यायको प्रक्रियालाई राजनीतिक रूपमा व्याख्या गर्नुभन्दा पीडितको आँखाबाट हेर्नुपर्नेमा उनले जोड दिएका छन्।

सभामुख निर्वाचनको प्रसङ्गमा बोल्दै उनले नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको पूर्ण पालना गर्नुपर्ने बताए। सभामुख पदमा पुगेपछि पार्टीगत स्वार्थभन्दा माथि उठेर सिङ्गो सदनप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक मूल्य–मान्यताविपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालका गतिविधि आफूहरूलाई स्वीकार्य नहुने उनले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.