रास्वपाका डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १४:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। संघीय संसद् सचिवालयले सभामुखको उम्मेदवारी दर्ताका लागि तोकेको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्र एकल उम्मेदवारी दर्ता भएको थियो। अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका थिए भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले अर्यालको विजय निश्चित प्रायः थियो। विपक्षी दलहरूका तर्फबाट कसैले पनि उम्मेदवारी दर्ता नगराएपछि उनी निर्विरोध चयन भएका हुन्। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने कार्यक्रम छ।

रास्वपाका उपसभापति समेत रहेका अर्याल अबको पाँच वर्षका लागि सदनको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्। उनले संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य-मान्यतालाई शिरोधार्य गर्दै निष्पक्ष रूपमा सदन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.