
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र अस्थिर सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि विशेष उडान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा यसबारे औपचारिक जानकारी दिइएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा रहेका र स्वदेश फर्कन चाहने नेपालीका लागि तीन दिनसम्म विशेष उडान सञ्चालन गरिने बताए। तालिका अनुसार शुक्रबार काठमाडौं-दुबई र शनिबार दुबई-काठमाडौं उडान हुनेछ।
त्यस्तै आइतबार काठमाडौं-दमाम र सोही दिन दमाम-काठमाडौं उडान भर्ने तयारी गरिएको छ। विशेषगरी पहिले नै बुकिङ भएका र तत्काल नेपाल फर्कनुपर्ने अवस्थाका नागरिकलाई प्राथमिकताका साथ ल्याइने प्रवक्ता क्षेत्रीले जानकारी दिए।
मन्त्रालयले सम्बन्धित देशका नियोगहरूको सिफारिसमा प्रतिउडान पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन समेत अनुरोध गरेको छ। यसअघि अप्रिल १ मा कुवेत एयरवेजमार्फत २ सय ९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जनाको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ।
पश्चिम एसियाको विकसित परिस्थितिलाई सरकारले नजिकबाट नियालिरहेको र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चालिने प्रवक्ता क्षेत्रीको भनाइ छ।
























