
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विगतमा गलत काम गर्ने जोकोहीलाई पनि सरकारले कारबाहीको दायरामा ल्याउने बताएका छन्। शुक्रबार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको जानकारी दिए।
विगतमा मन्त्रालयका बन्द कोठामा बसेर ‘सेटिङ’ को भरमा देशलाई ठग्नेहरूलाई कारबाही गर्न जनताले सरकारलाई म्यान्डेट दिएको मन्त्री तिमिल्सिनाको भनाइ छ। उनले सोही जनचाहना अनुसार सरकारले आवश्यक तयारी गरिरहेको र दोषीहरू उम्कन नपाउने स्पष्ट पारे। मुलुकको राजनीति अब सङ्लिएको दाबी गर्दै उनले मातहतका सबै निकायलाई निष्कलङ्क भएर काम गर्न निर्देशन समेत दिए।
मन्त्री तिमिल्सिनाले वर्तमान सरकार कामको चापमा रहेको उल्लेख गर्दै कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। मुलुकमा ठूलो आशाको सञ्चार हुने गरी परिणाममुखी काम गर्न जरुरी रहेको बताउँदै उनले सार्वजनिक संस्थानहरूले आफ्नो विश्वसनीयता जोगाउनुपर्नेमा जोड दिए। रेडियो नेपाल जस्तो ऐतिहासिक संस्थाले समयसापेक्ष आफूलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने उनको सुझाव थियो।
























