सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १६:१९
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । पश्चिम एसियाका विभिन्न मुलुकमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा ११ जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले यसबारे जानकारी दिएका हुन्।

पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्। इजरायल, अमेरिका र इरानबीच जारी तनावका क्रममा खाडी मुलुकहरूमा भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका फोटो र भिडियो खिच्ने, तिनलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र गलत सूचना फैलाउने कार्यमा संलग्न भएको अभियोग उनीहरूमाथि लगाइएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार युद्धग्रस्त क्षेत्रका देशहरूले हाल सामाजिक सञ्जालमा प्रवाह हुने भ्रमपूर्ण सन्देशहरूमाथि कडा निगरानी गरिरहेका छन्। यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्नेदेखि देश निकाला (डिपोर्ट) सम्मको कारबाही हुने ती देशका सरकारले चेतावनी दिँदै आएका छन्। पक्राउ परेका नेपालीहरूको अवस्था र उनीहरूमाथि लागेको जरिवाना लगायतका कानुनी विषयमा सम्बन्धित देशका नेपाली दूतावास र नियोगहरूले समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सम्बन्धित देशको कानुन र संवेदनशीलता बुझेर मात्र सामाजिक सञ्जाल प्रयोग गर्न र कुनै पनि सैन्य गतिविधि वा आक्रमणका दृश्यहरू खिचेर सार्वजनिक नगर्न आग्रह गरेको छ। मन्त्रालयले यस्ता गतिविधिले व्यक्तिगत सुरक्षामा मात्र नभई दुई देशबीचको सम्बन्धमा समेत असर पर्न सक्ने भन्दै सचेत रहन अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.