
इलाम । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारबीच समन्वयात्मक रणनीति आवश्यक रहेको बताएका छन् । इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजित ‘तेस्रो रेडपाण्डा महोत्सव’ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री पराजुलीले रेडपाण्डा पाइने क्षेत्रमा यसको चोरी-निकासी रोक्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । रेडपाण्डाको वासस्थान र आहारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले यसको ९० प्रतिशत आहार बाँस हुने भएकाले बाँसका झाडीहरू जोगाउनु मुख्य चुनौती रहेको उल्लेख गरे । ‘रेडपाण्डा देखिने क्षेत्रमा चोरी-निकासी हुन नदिन तीनै तहका सरकार रणनीतिक रूपमा लाग्नुपर्छ,’ उनले भने, ‘यसको वासस्थान र आहारको संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’
कोशी प्रदेश सरकारले रेडपाण्डाको संख्या वृद्धि गर्न बजेट समेत विनियोजन गरेको जानकारी दिँदै मन्त्री पराजुलीले दीर्घकालीन संरक्षणका लागि स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए । उनले वन र वन्यजन्तुको संरक्षणले मात्रै हिमाली क्षेत्रको पर्यापर्यटन बलियो हुने विश्वास व्यक्त गरे ।
सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु भएको यो महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म चल्नेछ । दुर्लभ रेडपाण्डाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए । आयोजक समितिका संयोजक एवं सन्दकपुर–२ का वडा अध्यक्ष सनम राईका अनुसार रेडपाण्डाको महत्ता बुझाउन २०८० सालदेखि निरन्तर यो महोत्सव आयोजना गरिँदै आएको छ ।
























