काठमाडौं। अमेरिका बस्ने एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि अभिनेता सागर लम्साल ‘बले’ लाई निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’ बाट निकालिएको छ।
कालिरानी फिल्म्स प्रालिले निर्माण गरिरहेको उक्त चलचित्रबाट लम्साललाई निष्कासन गरिएको निर्माण पक्षले औपचारिक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
अभिनेता लम्सालमाथि गम्भीर प्रकृतिको फौजदारी आरोप लागेपछि चलचित्र निर्माण टिमले आपतकालीन बैठक बसी उनलाई हटाउने निर्णय गरेको हो। बुधबार जारी विज्ञप्तिमा नैतिकताका आधारमा उनलाई चलचित्रबाट हटाइएको र घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायसँग माग गरिएको उल्लेख छ।
झापा आसपासका क्षेत्रमा चैत २ गतेदेखि छायाङ्कन भइरहेको यस चलचित्रमा लम्सालको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको थियो। तर, निर्माण पक्षले उनका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने साहसिक निर्णय लिएको छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले आरोपितलाई प्रश्रय दिनु वा न्यायिक प्रक्रियामा प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै लम्सालसँगको करार तत्काल रद्द गरिएको बताएका छन्। मुख्य कलाकारलाई अन्तिम समयमा हटाउँदा ठुलो आर्थिक क्षति हुने भए तापनि पीडित युवतीको न्याय र पीडाभन्दा पैसा ठुलो नभएको निर्माण टिमको ठहर छ।
























