
काठमाडौं। परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकहरूको समस्या समाधान र उद्धारका लागि ‘इमर्जेन्सी कन्ट्रोल रुम’ लाई २४सै घण्टा सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले कन्ट्रोल रुममार्फत भइरहेका कार्यहरूबारे जानकारी दिएका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार हालसम्म कन्ट्रोल रुममा ८० वटा प्रत्यक्ष फोन कलसहित कुल २०० पटक समन्वयका लागि सम्पर्क भइसकेको छ। विदेशमा रहेका नेपालीहरूको विवरण सङ्कलनलाई व्यवस्थित बनाउन कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन्। पछिल्लो समय आफू असुरक्षित भएको भन्दै मन्त्रालयमा फोन गर्नेहरूको संख्यामा भने उल्लेख्य कमी आएको मन्त्रालयको दाबी छ।
मन्त्रालयले विदेशस्थित १० वटा नेपाली नियोगहरूमा हटलाइन सेवा सुचारु राख्नुका साथै ९ वटा नियोगमा ‘र्यापिड रेस्पोन्स टिम’ समेत गठन गरी परिचालन गरेको छ। सम्पर्कमा आउने नेपालीहरूले मुख्यतया कुवेतको उडान अवस्था, स्वदेश फिर्तीको समय, श्रम स्वीकृति र अन्य विविध समस्याबारे जिज्ञासा राख्ने गरेका छन्। ‘ट्रान्जिट’ मा समस्यामा परेका नेपालीहरूको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदी भिसा पाए पनि स्वेच्छाले उतै बसेको जानकारी मन्त्रालयले दिएको छ।
विभिन्न देशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ। उडान अवरोधका कारण ओमान, अबुधाबी, दुबई, रियाद, कतार र बहराइन लगायतका देशमा ३८ जना नेपालीको शव ल्याउन बाँकी रहेको छ।
गत चैत १८ गते कुवेत एयरलाइन्समार्फत ९ वटा शव नेपाल ल्याइसकिएको र बाँकी शवहरू पनि क्रमशः ल्याउने प्रक्रिया अगाडि बढाइएको प्रवक्ता क्षेत्रीले बताए। मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई कुनै पनि समस्या परेमा तुरुन्त सम्बन्धित नियोग वा कन्ट्रोल रुममा सम्पर्क गर्न आग्रह गरेको छ।
























