
काठमाडौं। नेकपा (एमाले) ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा बधाई दिएको छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री शाहलाई बधाई दिने औपचारिक निर्णय गरेको हो।
बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ।’
एमालेले नयाँ सरकारको सफल कार्यकालको शुभकामना दिँदै मुलुकको विकास र समृद्धिका लागि सहकार्य गर्ने समेत जनाएको छ।
सचिवालय बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको विवादास्पद सम्बोधनबारे पनि निकै लामो र गम्भीर छलफल भएको छ।
बादलले संसद्मा बोल्ने क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाहरूको चलखेलका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको भनी लगाएको आरोपप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
एमालेले बादलको उक्त व्यक्तिगत बुझाइ पार्टीको आधिकारिक नीति र लोकतान्त्रिक मूल्य मान्यतासँग मेल नखाने स्पष्ट पारेको छ।
























