शंकरलाल अग्रवाल र सुलभ अग्रवाल ।काठमाडौं । अग्रवाल परिवारद्वारा सञ्चालित शंकर–जगदम्बा समूहमा पछिल्लो घटनाक्रमले व्यापक हलचल उत्पन्न गरेको छ ।
शंकर र जगदम्बा ग्रुप व्यवहारमा एउटै नेटवर्कको रूपमा काम गर्ने औद्योगिक घराना हुन् । दुवैको अध्यक्ष शंकर अग्रवाल हुन् । शंकर ग्रुपभित्रको प्रमुख औद्योगिक पहिचान जगदम्बा ग्रुप हो ।
एउटै व्यवसायिक सञ्जालअन्तर्गत सञ्चालनमा रहेका यी समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेपछि उनका छोरा सुलभ अग्रवालको राहदानी (पासपोर्ट)समेत रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी अनुसन्धानका क्रममा अध्यागमन विभागले सुलभले प्रयोग गर्दै आएका दुईवटा राहदानी नियन्त्रणमा लिएको जनाएको छ ।
उनी विदेश फरार हुनसक्ने आशंकाका आधारमा यस्तो निर्णय गरिएको बताइएको छ । स्रोतका अनुसार आवश्यक प्रमाण जुटाएर पक्राउ गर्ने तयारी छ । यसअघि शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शंकरलाल अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।
उनीमाथि अवैध रूपमा आर्जित सम्पत्ति लुकाउने, रूपान्तरण गर्ने र वैध देखाउने प्रयास गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान अधिकारीहरूका अनुसार अग्रवाल परिवारसँग सम्बन्धित बैंकिङ कारोबार, लगानीको स्रोत र विभिन्न कम्पनीमार्फत भएको आर्थिक गतिविधिको सूक्ष्म विश्लेषण भइरहेको छ ।
शंकर र जगदम्बा नामले चिनिने यी समूहहरू वस्तुतः एउटै औद्योगिक संरचनाअन्तर्गत सञ्चालनमा रहेका छन् । इस्पात, सिमेन्ट, ऊर्जा लगायतका क्षेत्रमा फैलिएको यस समूहको नेतृत्वमाथि लागेको आरोपले निजी क्षेत्रमा तरंग पैदा गरेको छ ।
ठूला व्यवसायीमाथि लगातार कारबाही हुन थालेपछि आर्थिक पारदर्शिता र जवाफदेहिताको विषय पुनः केन्द्रमा आएको छ । यसअघि बिहीबार मात्रै व्यवसायी दीपक भट्ट पनि पक्राउ परिसकेका छन् ।

























