ध्वनि प्रदूषण गर्ने र मोडिफाई गरिएका मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १०:०८

झापा । झापाको दमकमा ध्वनि प्रदूषण गर्ने तथा सवारी नियम विपरीत मोडिफाई गरेर चलाइएका आठवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ध्वनि प्रदूषण गर्ने र मोडिफाई गरिएका मोटरसाइकलमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले शुक्रबार राति ११ः३० बजेतिर दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रबाट मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । सवारीसाधनलाई अनधिकृत रूपमा मोडिफाई गरी अत्यधिक आवाज निकाल्ने बनाइएको तथा ट्राफिक नियमको उल्लंघन गर्दै सार्वजनिक सडकमा सञ्चालन गरिएको पाइएको छ ।

ध्वनि प्रदूषणका कारण समस्या भएको भनेर स्थानीयले समेत लामो समयदेखि गुनासो गर्दै आएका थिए । प्रहरीले लामो समयदेखि विशेष निगरानीसहित चेकजाँचलाई तीव्र बनाइरहेको थियो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूमा प्रदेश १–०२–०४८ प ५९०३, प्रदेश १–०२–०५७ प ८५६१, प्रदेश १–०२–०४५ प १९३६, को २२ प ६८००, बा ९८ प ६४२६, को २९ प ३३५३, मे ४ प ३७६४ र मे ११ प ५६७६ नम्बरका छन् । सबै मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि प्रहरीकै नियन्त्रणमा राखिएको छ ।

सवारीसाधनलाई अनधिकृत रूपमा मोडिफाई गरी ध्वनि प्रदूषण गर्ने कार्य कानुनविपरीत रहेको प्रहरीको भनाइ छ । यस्ता गतिविधि दोहोरिन नदिन नियमित निगरानी र कारबाही अभियानलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने बनाउँदै रातिको समयमा समूहमा तीव्र गतिमा चलाउनेजस्ता गतिविधि बढ्दै गएको पाइएको छ । यस्ता कार्यले शान्ति सुरक्षामा असर पर्ने र नागरिकको दैनिक जीवनमा समेत असहजता सिर्जना गर्ने प्रहरीको भनाइ छ । प्रहरीले सवारी एवं ट्राफिक नियमको पालना गर्न, अनधिकृत मोडिफिकेसन नगर्न र ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.