ड्रोन घटनामा घाइते सबै नेपाली खतरामुक्त

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १३:५५

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका सबै नेपालीको अवस्था खतरामुक्त रहेका छन् ।

यूएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार घाइते भएका सातै जना नेपालीसँग दूतावासका कर्मचारीले कुराकानी गरिसकेका छन् ।

घटनामा एक जनाको अवस्था सुरुमा चिन्ताजनक भनिए पनि अहिले सबैको अवस्था सामान्य र खतरामुक्त रहेको उनले बताए । आवश्यक सहयोगका लागि दूतावास सक्रिय रूपमा परिचालित रहेको जानकारी उनले दिए ।

घाइतेमध्ये दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार जारी रहेको जानकारी दिइएको छ । शुक्रबार अबुधाबीको अजबान क्षेत्रमा इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गर्दा त्यसका भग्नावशेष खसेका थिए ।

घटनामा सात नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा पाँच जना भारतीय नागरिक रहेका छन् । यूएईका सरकारी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि नेपाली दूतावासले चासो लिँदै घाइतेहरूको जानकारी संकलन गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.