
विराटनगर । विराटनगरमा ट्राफिक प्रहरीले सुरक्षित सडक सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । विराटनगरका विभिन्न ठाउँमा अभियान जारी रहेको हो ।
उक्त अभियानमा सर्वसाधारण, सवारी चालक तथा विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जिम्मेवार हिसाबले सवारी सञ्चालनका बारेमा जानकारी दिने गरिन्छ । अभियान सञ्चालन गर्नेमध्येको एउटा युनिट हो, ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोक ।
पुष्पलाल चोकका इन्चार्ज एवं असई (प्रहरी सहायक निरीक्षक) ज्ञानेन्द्र कार्कीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा प्रहरी सहायक निरीक्षक कार्कीले सडकमा सवारी चलाउँदा गति भन्दा पनि गन्तव्यलाई महत्त्व दिनुपर्ने बताए ।
उनले तीव्र गतिका कारण हुने दुर्घटनाले मानव जीवनमा अपूरणीय क्षति पुर्याउने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरे । ‘गति होइन, सुरक्षित गन्तव्य महत्वपूर्ण हो’ भन्ने सन्देशलाई केन्द्रमा राख्दै असई कार्कीले ट्राफिक नियमको पालना गरेमा धेरै हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।

ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकले सचेतना कार्यक्रममार्फत ट्राफिक संकेत, लेन अनुशासन, सिटबेल्ट तथा हेल्मेटको प्रयोग, मदिरा सेवनपछि सवारी नचलाउनेजस्ता विषयमा विस्तृत जानकारी दिइरहेको छ । ट्राफिकको सचेतनामूलक अभियानमा सहभागी भएका चालकहरुले कार्यक्रम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।
यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकमा सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने योजना बनाइएको ट्राफिक प्रहरीका असई कार्कीले बताए । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले विराटनगरको सहरी यातायातलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सीटी सफारी सञ्चालनमा नयाँ नियमसहित कडाइ गरिएको बताए ।
लाइसेन्स प्राप्त गरेका र पोसाक लगाएका चालकले मात्रै सफारी चलाउन पाउने नियम लगाइएको जानकारी उनले दिए । न्यौपानेका अनुसार अबदेखि सफारी चालकका लागि ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट अनिवार्य गरिएको छ ।
लाइसेन्स नभएका वा ट्राफिकले तोकेको ज्याकेट नलगाउने चालकलाई सफारी चलाउन रोकन लगाइने र ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिने उनले बताए । सीटी सफारीसहित समग्र यातायात क्षेत्रलाई अनुशासित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न सबैतिर ट्राफिक सक्रियता बढाइएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए ।

























