
लमजुङ । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार बेसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबीमा शनिबार दुर्घटनामा परेको हो । उकालो चढ्दै गरेको जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
जिपमा चालकसहित १४ जना सवार रहेका थिए । सबै घाइते भएका थिए । उपचारका लागि लैजाँदै गर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घले रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ । चालक करण अधिकारी पनि घाइते भएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
























