‘लेखापढी व्यवसायी बिचौलिया होइनन्, राज्यले सास्ती दिन बन्द गरोस्’

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १९:०७

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले लेखापढी व्यवसायीमाथि भइरहेको धरपकड र मानसिक त्रास तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।  एसोसिएसनको इकाई समिति विराटनगरको १९ औँ साधारणसभाका अवसरमा बोल्ने वक्ताहरूले राज्यले व्यवसायीलाई सुरक्षा दिनुको सट्टा उल्टै ‘बिचौलिया’को बिल्ला भिराएर पेसाबाटै विस्थापित गर्न खोजेको गुनासाे गरेका हुन् ।

साधारणसभालाई सम्बोधन गर्दै एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सरोज घिमिरेले सरकारबाटै अनुमति लिएर वैधानिक रूपमा काम गरिरहेका व्यवसायीलाई विनाकारण धरपकड गर्ने र मुद्दा चलाउने कार्यको  भर्त्सना गरे । ‘हामी बिचौलिया होइनौँ, सेवाग्राहीका सेवक हौँ,’ उपाध्यक्ष घिमिरेले भने,’देशका विभिन्न मालपोत कार्यालयहरूमा कानुनसम्मत काम गरिरहेका व्यवसायीलाई बिचौलियाको संज्ञा दिएर पक्राउ गर्नु अन्यायपूर्ण छ ।’

उपाध्यक्ष घिमिरेले यदि कसैले कानुनी सीमा नाघेर गलत कार्य गरेको छ भने त्यस्ता व्यक्तिलाई कारबाही गर्न आफूहरूको सहयोग रहने बताए । वास्तविक व्यवसायी र बिचौलियाबीचको भिन्नता नछुट्याई सबैलाई एउटै डालोमा हालेर दुःख दिने रणनीति राज्यले लिएको उनको गुनासो थियो ।

व्यवसायीहरूले सरकारले आफ्नो रवैया तत्काल नसुधारे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्नो पेसालाई थप मर्यादित र पहिचानयुक्त बनाउन अबदेखि सबै व्यवसायीले अनिवार्य रूपमा कानुनले तोकेको पोसाक लगाएर मात्र कार्यस्थलमा खटिने निर्णयसमेत सभाले गरेको छ ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि लेखापढी व्यवसायीहरूले नागरिक र सरकारी निकायबीच पुलको काम गरिरहेको उल्लेख गर्दै राज्यले व्यवसायीलाई झन्झट र सास्ती दिने काम तुरुन्त रोक्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति विराटनगरका अध्यक्ष कञ्चन न्यौपानेको अध्यक्षतामा सम्पन्न भएकाे साधारणसभाले व्यवसायीको हकहित र पेसागत सुरक्षाका लागि एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.