
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि नेकपाले उपसभामुखमा दाबी गरेको हो।
आज आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा नेता वर्षमान पुनले उपसभामुख पदका लागि अन्य राजनीतिक दलहरूसँग छलफल प्रक्रिया अगाडि बढाउने जानकारी दिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यो पदमा आफ्नो दाबी कायमै राखेको छ। नेपालको संविधान अनुसार एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन पाउँदैनन्।
सोही प्रावधानका कारण अब रास्वपा बाहेकका अन्य दलबाट उपसभामुख चयन हुने निश्चित देखिएको छ। संवैधानिक निकायहरूमा नियुक्ति गर्ने महत्वपूर्ण अधिकार रहेको संवैधानिक परिषद्मा उपसभामुख सदस्य रहने व्यवस्था भएकाले पनि दलहरूले यस पदलाई विशेष चासोका साथ हेरेका हुन्।
परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ।
























