
काठमाडौं। प्रहरीले ललितपुरका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ। आइतबार ललितपुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त टोलीले नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जनालाई पक्राउ गरेको छ।
सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको र काममा अवरोध सिर्जना गरेको आरोपमा उनीहरूलाई समातिएको ललितपुर प्रहरीले बताए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
























