
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। यसअघि अदालतले पहिलोपटक ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान पक्राउ गरेको हो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। सोही आगजनीका बेला उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको सोही रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी समेत सङ्कलन गरिसकेको छ। अहिले उनलाई हिरासतमा राखेर थप बयान र प्रमाण जुटाउने काम भइरहेको विभागले जनाएको छ।
























