संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०६:२३

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दैछन् । बैठकमा महत्वपूर्ण राजनीतिक तथा संवैधानिक विषयहरू अघि बढाइने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठकले सरकारका तर्फबाट ल्याइएका अध्यादेश, संवैधानिक प्रतिवेदन तथा पदाधिकारी चयनजस्ता विषयमा निर्णायक छलफल र प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकको मुख्य एजेन्डाका रूपमा सरकारले जारी गरेका तीनवटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरिनेछ । गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अध्यादेशहरू निर्वाचन प्रणाली, मतदाता व्यवस्थापन र विशेष सेवा सम्बन्धी कानुनी प्रबन्धलाई परिमार्जन गर्ने उद्देश्यले ल्याइएका हुन् । संसदबाट स्वीकृति पाएसँगै यी व्यवस्थाहरू कार्यान्वयनको चरणमा जानेछन् । जसले आगामी राजनीतिक तथा प्रशासनिक प्रक्रियामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

राष्ट्रियसभाको बैठक भने प्रतिनिधिसभाभन्दा केही अघि, अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्नेछ । राष्ट्रियसभाको बैठकमा उपाध्यक्ष चयन प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ । राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यससँगै राष्ट्रियसभामा अर्को महत्वपूर्ण कार्यसूची पनि रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०–०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतिवेदनले देशको मानवअधिकार अवस्थाका बारेमा विस्तृत मूल्यांकन प्रस्तुत गर्ने भएकाले यसलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.