पहाडमा वर्षा, हिमालमा हिमपात

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०६:३०

काठमाडौं । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ । जसका कारण आज (सोमबार) बिहानैदेखि पहाडी र हिमाली क्षेत्रमा मौसम बदलीसँगै वर्षा र हिमपात भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । हाल कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा फाट्टफुट्ट वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात जारी छ ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहेको छ ।

मौसमविद्हरूले वर्षा र चट्याङको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । विशेषगरी पहाडी क्षेत्रमा बसोबास गर्ने स्थानीय तथा पदयात्रामा रहेका पर्यटकलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.