
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भए पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो । सोही रिट सोमबार पुनः निरन्तर सुनुवाइका लागि पेस हुन लागेको हो ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य तथा नेता लेखककी पत्नी यशोदा लेखकले गत चैत १५ गते सर्वोच्च अदालतमा छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । उनीहरूले आफ्ना पति गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन् ।
यसअघि सर्वोच्च अदालतले दुवै रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरिसकेको छ । अध्यक्ष ओलीको हकमा न्यायाधीश मेघराज पोखरेलको इजलासले र नेता लेखकको हकमा न्यायाधीश कुमार रेग्मीको इजलासले चैत १६ गते उक्त आदेश दिएका थिए ।
आदेशसँगै सम्बन्धित निकायलाई पक्राउ र थुनाको आधार स्पष्ट पार्न निर्देशन दिइएको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको पक्राउ र थुनालाई गैरकानुनी ठहर गरिएको छ । निवेदकहरूले उक्त प्रतिवेदनको सिफारिसका आधारमा गरिएको कारबाही कानुनी प्रक्रिया विपरीत भएको जिकिर गरेका छन् ।
यस प्रकरणले मुलुकको राजनीतिक वृत्तमा व्यापक चासो पैदा गरेको छ । दलका नेतामाथि थुनाको विषयमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइले कानुनी मात्र नभई राजनीतिक बहसलाई समेत तीव्र बनाएको छ । सोमबारको सुनुवाइबाट अदालतले के निर्णय दिन्छ भन्ने विषयलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ ।



















