
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा सोमबार बिहान आकस्मिक छड्के अनुगमन गरेका छन्।
मन्त्री गुरुङले दुवै कार्यालयको सेवा प्रवाह, कर्मचारीको अनुशासन र हालै चर्चामा रहेको वेबसाइट ह्याकको विषयमा प्रत्यक्ष जानकारी लिएका हुन्।
अनुगमनका क्रममा उनले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलासुस्ती र यसका कारण सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति विशेष चासो देखाएका छन्।
सेवाग्राहीले भोग्नुपर्ने झन्झटलाई न्यूनीकरण गर्दै सेवालाई कसरी छिटो छरितो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनले कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन्।
नागरिकको व्यक्तिगत विवरणसँग जोडिएका संवेदनशील निकायको सुरक्षा र चुस्त व्यवस्थापनका लागि मन्त्रालयले प्राथमिकता दिने उनको सचिवालयले जनाएको छ।
























