
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको प्रतिनिधि सभा बैठकले संसद् सञ्चालनका लागि महत्त्वपूर्ण दुई समितिहरू गठन गरेको छ। सिंहदरबारस्थित नवनिर्मित भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति र १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो।
सभामुख अर्यालले सार्वजनिक गरेको कार्यव्यवस्था परामर्श समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव रहेका छन्।
त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य पनि समितिमा मनोनित भएका छन्। यो समिति सभामुखको अध्यक्षतामा रहनेछ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय नियमावली मस्यौदा समिति समेत अनुमोदन गरेको छ। रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले प्रस्ताव गरेको उक्त समितिलाई सबै दलले समर्थन गरेका थिए।
१४ दिनको कार्यावधि पाएको यस समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल सदस्य रहेका छन्।
यसैगरी, बैठकले गृहमन्त्री सुधन गुरुङद्वारा प्रस्तुत तीनवटा अध्यादेशहरू सर्वसम्मतिले स्वीकृत गरेको छ। स्वीकृत भएका अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्।
बैठकले पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
























