
काठमाडौं। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित उनका परिवारका सदस्यविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलले गैरकानुनी तबरले आर्जन गरेको कुल सम्पत्तिमध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ। गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरी अवैध धनलाई वैध बनाउने प्रयास गरिएको पुष्टि भएको छ। आयोगले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ। साथै, एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरिएको छ। लेखा अधिकृत पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धी अर्को मुद्दा अदालतमा विचाराधीन छ।
























