
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–३ चाइनिज क्वार्टरनजिकै खेल्ने क्रममा खोलामा डुबेर सोमबार एक जना बालकको मृत्यु भएको छ ।
भोला भनिने देवादिन मियाँको छोरा ३ वर्षीय आर्यन खानको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार झरना खोलाको किनारमा खेल्ने क्रममा अचानक लडेर बालक खोलामा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयले बिहान ९ः२० बजेतिर उद्धार गरेर गम्भीर घाइते अवस्थामा बालकलाई उपचारका लागि साई हस्पिटल झुम्का पठाएका थिए । सामान्य उपचार पश्चात थप उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा बिहान १०ः२१ बजेतिर मृत्यु भएको डीएसपी खड्काले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
























