दुई मोटरसाइकल ठोक्किएर आगलागी, ३ जना परीक्षार्थीको जलेर मृत्यु

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १४:५७

महोत्तरी। महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा ३जना विद्यार्थीको जलेर मृत्यु भएको छ। एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा मंगलबार विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किएका थिए।

महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार दुर्घटनालगत्तै दुवै मोटरसाइकलमा भीषण आगलागी भएको थियो। आगलागीका कारण तीनै जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार मृतक तथा घाइतेहरू एसईई  परीक्षा दिएर फर्किएका विद्यार्थी हुन्।

दुर्घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकलहरू पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत चिन्न नसकिने अवस्थामा रहेकाले मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.