राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध चयन

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १६:४६

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चारवटै विषयगत समितिमा सभापतिहरू निर्विरोध चयन भएका छन्। संघीय संसद् सचिवालयले तोकेको मनोनयनको समयभित्र प्रत्येक समितिमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको भागबन्डा अनुसार नै यी समितिहरूमा उम्मेदवारी परेको थियो। सहमति अनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद पाएको छ, जसमा सांसद लीला भण्डारी निर्विरोध निर्वाचित भई कार्यभार सम्हालिसकेकी छन्। यस्तै कांग्रेसले दुई तथा नेपाली कम्युनिस्ट पार्टी र जसपाले एक–एक समिति सभापति पाउने सहमति भएको थियो।

सहमति अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेसका कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्। पौडेल कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव हुन् भने रोकाय राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक थिए। त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा जसपाकी पूजा चौधरी निर्विरोध चयन भएकी छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा भने नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राई निर्वाचित भएकी छन्। हाल राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, एमालेका १० र जसपाका ३ सांसद छन्। यसैगरी राष्ट्रिय जनमोर्चाका १ र सरकारको सिफारिसमा मनोनीत २ सांसद रहेका छन्। राजनीतिक दलहरूबिचको शक्ति सन्तुलन मिलाएर संसदीय समितिहरूलाई पूर्णता दिइएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.