
रंगेली । मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित शान्ति टोलमा मंगलबार दिउँसो आगलागी हुँदा तीनवटा घर जलेर पूर्णरूपमा ध्वस्त भएका छन् ।
स्थानीयका अनुसार अचानक लागेको आगोले तीव्र रूप लिँदा घरभित्र रहेका सम्पूर्ण सामग्री ध्वस्त भएका हुन् । आगलागीबाट स्थानीय शान्ति मर्डी, रामे मर्डी र नेपाल हेमरामका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँतले घरहरू तथा एउटा दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायत दैनिक उपभोगका सामग्री सबै जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागी भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरी गाउँपालिकाको दमकल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । संयुक्त प्रयासका कारण आगो थप फैलिन नपाए पनि प्रभावित परिवारका घरहरू जोगाउन भने सम्भव भएन ।
घटनापछि पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उनीहरूलाई तत्काल खाद्यान्न, लत्ताकपडा तथा अस्थायी बसोबासका लागि त्रिपालको अत्यन्त आवश्यकता देखिएको छ ।
स्थानीय तह र सुरक्षानिकायले राहत व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका छन् । सहयोगी दाताहरूलाई पनि पीडित परिवारको सहयोगका लागि आह्वान गरिएको छ । आगलागीको कारण अझै यकिन भइसकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























