
काठमाडौं। प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले नयाँ नियमावली तर्जुमाका लागि भोलि बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरूमा छलफल सुरु गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले नियमावलीका प्रावधानहरूबारे नियमित छलफल अघि बढाउने सहमति गरेको हो ।
गणेश पराजुली सभापति रहेको १५ सदस्यीय यस समितिले नयाँ नियमावली निर्माणको काम गरिरहेको छ । बुधबारको बैठकमा सभापति पराजुलीले नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गरेर सुनाएका थिए । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापतिले ती परिच्छेदहरूमा केही संशोधन आवश्यक भए भोलिको बैठकमा प्रस्ताव ल्याउन सदस्यहरूलाई आग्रह गरेका छन् ।
समितिमा सांसदहरू ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्यका रूपमा रहेका छन् । भोलिदेखि हुने दफावार छलफलले प्रतिनिधिसभा सञ्चालनका लागि नयाँ र परिमार्जित व्यवस्था तय गर्ने अपेक्षा गरिएको छ ।
























