आगलागीमा जलेका राष्ट्रिय परिचयपत्र पुनः कसरी बनाउने ?

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १५:२५

काठमाडौं । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते आगजनी गरिँदा नष्ट भएका राष्ट्रिय परिचयपत्र पुनः प्राप्त गर्न प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आन्दोलनका क्रममा करिब दुई लाख परिचयपत्र जलेर नष्ट भएको अनुमान गरिएको छ । जसका कारण धेरै सेवाग्राही प्रभावित भएका छन् ।

यसअघि नै ‘परिचयपत्र तयार भयो’ भन्ने सन्देश पाए पनि लिन जान नभ्याएका नागरिकहरू अहिले पुनः प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् । प्रशासनले त्यस्ता सेवाग्राहीलाई पहिले जिल्ला प्रशासन कार्यालयमै उपस्थित भएर आफ्नो परिचयपत्र आगलागीमा नष्ट भएको पुष्टिपत्र लिन आग्रह गरेको छ ।

उक्त पुष्टिपत्र लिएपछि सेवाग्राहीले सिंहदरबारस्थित राष्ट्रिय पञ्जीकरण विभागमा पुग्नुपर्ने हुन्छ । त्यहाँ आवश्यक कागजातहरू पेस गर्नुपर्छ, जसमा सक्कली नागरिकता प्रमाणपत्र अनिवार्य हुन्छ । विवाहित व्यक्तिका लागि विवाह दर्ता प्रमाणपत्र र बसाइँसराइ गरेको भए त्यससम्बन्धी प्रमाणपत्र समेत आवश्यक पर्ने बताइएको छ ।

कागजात बुझाएपछि पुनः बायोमेट्रिक विवरण दिनुपर्ने प्रक्रिया हुन्छ । बायोमेट्रिक सम्पन्न भएपछि सेवाग्राहीले आवेदन दर्ता भएको प्रमाणस्वरूप रुजु फाराम प्राप्त गर्छन् । यही फारामलाई आधार मानेर नयाँ परिचयपत्र तयार गरिन्छ ।

विभागका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि करिब तीनदेखि चार महिनाभित्र नयाँ राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ । यस प्रक्रियाले आगलागीबाट प्रभावित सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.