
काठमाडौं। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिले देशभरका कारागारमा भइरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गरेको छ । कारागार विभागलाई ध्यानाकर्षण पत्र दिंदै यस्तो माग गरेको हो ।
केन्द्रीय समितिले देशभरका कारागारहरूमा देखिएको चरम बेथिति, अनियमितता र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै आज बुधबार कारागार विभागका महानिर्देशकसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । नेविसंघका केन्द्रीय सदस्य बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका कारागारहरूमा कैदी बन्दीहरूको आधारभूत अधिकारसमेत हनन् हुने गरी विभिन्न अनियमितता भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
काठमाडौँस्थित जगन्नाथदेवल कारागारसहित विभिन्न जेलमा कैदी बन्दीहरूबाट अनावश्यक रूपमा आर्थिक असुली गर्ने, औषधि उपचारमा लापरबाही, मानसिक रोगी तथा बिरामी कैदी बन्दीहरूको रकम हिनामिना गर्ने, बन्दीहरूको उचित व्यवस्थापनमा कमजोरी, र नाइके सहनाइके चयन प्रक्रियामा समेत आर्थिक चलखेल भइरहेको पत्रमा उल्लेख छ ।
यस्ता गतिविधिमा संलग्न कर्मचारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन, सम्बन्धित कर्मचारीहरूको बैंक खाता छानबिन गर्न तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरिएको छ । दोषी प्रमाणित हुनेहरूलाई प्रचलित कानुनअनुसार कडा र उदाहरणीय कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
कारागार ऐन २०७९ बमोजिम गम्भीर फौजदारी अभियोग लागेका कैदीबन्दीलाई चौकीदार, नाइके वा सहनाइके नबनाउन पनि माग गरिएको छ । कैदीबन्दीबाट नाइके सहनाइके बनाइदिन्छु भन्दै असुली गरिएको रकम तत्काल फिर्ता गरिनुपर्ने मागसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै सीटीईभीटीका केन्द्रीय अध्यक्ष कुम्भराज देउवाले भने देशभरका कैदीबन्दीको रसद पानी खर्च र औषधी उपचारको खर्चमा समेत गिद्धेनजर लगाउने भ्रष्टहरुलाई कानुनी कारबाही नभए नेविसंघले उचित कारबाही गर्ने समेत बताएका थिए ।
























