
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। न्यायाधीशहरू हरिप्रसाद फुयाँल, मनोजकुमार श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।
यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस मुद्दामा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। सोही आदेशअनुसार आज तीन सदस्यीय इजलासले यसको सुनुवाइ गर्न लागेको हो।
जसपा नेपालबाट अलग भएका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि आयोगले ‘जसपा’ नामको अर्को दल दर्ता गरिदिएको थियो। अध्यक्ष यादवले भने आफ्ना नेताहरूले दिएको निवेदनका आधारमा दल दर्ता गर्नु गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्चमा चुनौती दिएका थिए।
यसका साथै यादवले आफ्नो दल छाडेर जाने ७ जना सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै अर्को रिट समेत दायर गरेका थिए। दुवै रिटलाई सर्वोच्चले सँगै राखेर हेर्ने प्रक्रिया अघि बढाएको छ।
यसअघि अदालतले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि सोही बीचमा अशोक राई पक्षका सांसदहरूले तत्कालीन सरकारलाई विश्वासको मत दिएका थिए।
























