
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख पदमा उम्मेदवारी दिने विषयमा आन्तरिक छलफलमा जुटेका छन्। उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकाले दुवै दल निष्कर्ष निकाल्न बैठकमा व्यस्त छन्।
एमाले सांसद गुरुप्रसाद बरालले उपसभामुख प्रतिपक्षको अधिकारको विषय भएकाले प्रतिपक्षी दलहरूसँग संवाद भइरहेको जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीसँग यसबारे कुराकानी भइरहे पनि ठोस टुङ्गो लागिसकेको छैन। एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पनि संवादको पहल गरिरहेको छ।
यसैगरी नेपाली कांग्रेसका सांसद मोहन आचार्यले पनि आफूहरू छलफलकै क्रममा रहेको बताए। उम्मेदवारी दिने वा नदिने भन्नेबारे केही बेरमा टुङ्गोमा पुगिने उनले जानकारी दिए।
प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भइसकेकाले संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा फरक दलको प्रतिनिधित्व हुनुपर्नेछ। साथै, सभामुख पुरुष रहेकाले उपसभामुख पदमा महिला उम्मेदवार हुनुपर्ने कानुनी प्रावधान छ। सोही अनुसार प्रतिपक्षी दलहरू साझा उम्मेदवार तय गर्ने कसरतमा लागेका हुन्।
























