
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आजै हाजिर जमानीमा छाडिने भएको छ। सर्वोच्च अदालतको परमादेश र जिल्ला अदालतले दिएको म्याद सकिएसँगै उनीहरूलाई रिहा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सर्वोच्चको आदेश पालना गर्दै दुवै जनालाई छाड्ने निर्णय भएको जानकारी दिए। सरकारी वकिल कार्यालय काठमाडौंको सहमति प्राप्त भइसकेकाले उनीहरूलाई नजिकको आफन्तको जिम्मा लगाएर रिहा गरिने तयारी प्रहरीले गरेको छ।
गत भदौ २३ गतेको घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहे पनि अदालतले तोकेको थुना म्याद सकिएकाले उनीहरूलाई हिरासत बाहिरै राखेर बाँकी अनुसन्धान गरिनेछ।
यसैबीच, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वऊर्जा मन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको विषयमा सर्वोच्च अदालतले सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले खड्काद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबारसम्म लिखित जवाफ र म्याद थपसम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको हो।
खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १५ गते पक्राउ गरेको थियो। सर्वोच्चले काठमाडौं जिल्ला अदालत र सम्बन्धित निकायबाट अनुसन्धानको प्रगति र हिरासतमा राख्नुपर्ने आधारसहितका कागजात माग गरेपछि यस मुद्दामा शुक्रबार थप सुनुवाइ हुनेछ।
























