
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सघाउने निर्णय गरेको छ। सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएपछि संवैधानिक व्यवस्था अनुसार उपसभामुख फरक दलको हुनुपर्ने भएपछि रास्वपाले राप्रपालाई समर्थन गर्ने भएको हो।
यसअघि रास्वपाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई सघाउने विषयमा छलफल गरे पनि अन्तिममा राप्रपासँग सहकार्य गर्ने टुङ्गो लागेको हो। राप्रपाले उपसभामुखका लागि सरस्वती लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् भने उनी राप्रपा नेता बुद्धिमान तामाङकी श्रीमती हुन्।
उपसभामुखका लागि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने तयारी गरिरहेको छ। यता नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले भने उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। प्रतिनिधिसभामा रास्वपाको समर्थन प्राप्त भएपछि लामा उपसभामुख बन्ने सम्भावना बलियो देखिएको छ।
























