उपसभामुखमा श्रम संस्कृतिकी रुवी कुमारीको उम्मेदवारी

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १४:१९

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार संघीय संसद् सचिवालयमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन्।

रुवी कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेले समर्थन गर्ने बताएका छन्। यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी सञ्चारकर्मीहरूलाई दिएका हुन्।

संसद् सचिवालयका अनुसार रुवी कुमारीको प्रस्तावकमा आर्यन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी निरौला रहेका छन्। सचिवालयले उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेकाले संवैधानिक प्रावधान अनुसार उपसभामुखमा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ। प्रमुख दलहरूको समर्थन जुटेसँगै रुवी कुमारीको चयन सहज हुने देखिएको छ। उपसभामुखका लागि भोलि शुक्रबार निर्वाचन हुने कार्यतालिका रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.