
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)जस्तो संवेदनशील र राष्ट्रिय महत्वको परीक्षामा गम्भीर लापरबाही तथा अनियमिततामा सहायक केन्द्राध्यक्ष संलग्न रहेको घटना बाहिर आएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रबाट सहायक केन्द्राध्यक्षकै संलग्नतामा प्रश्नपत्र बाहिर पठाइएको पाइएपछि शिक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । प्रश्नपत्र बाहिर पठाउने सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार सञ्चालन भएको लेखा विषयको परीक्षाका क्रममा उनले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार परीक्षा सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिबाटै यस्तो कार्य भएको फेला परेको छ ।
परीक्षाको गोपनीयता भंग हुने गरी प्रश्नपत्र बाहिर पठाइएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले माझीलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछ गर्दा उनले मोबाइलमार्फत प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको स्वीकार गरेको स्रोतको दाबी छ ।
यस घटनाले परीक्षा प्रणालीमा संलग्न जिम्मेवार व्यक्तिहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । परीक्षाजस्तो संवेदनशील प्रक्रियामा केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षबाट उच्च स्तरको नैतिकता र जिम्मेवारीको अपेक्षा गरिन्छ । तर, उल्टै उनीहरूकै संलग्नतामा प्रश्नपत्र बाहिर पठाइनुले विद्यार्थीहरूबीच असमान प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सम्पूर्ण परीक्षाको निष्पक्षतामाथि धक्का पुगेको देखिन्छ ।
पक्राउ परेका माझीविरुद्ध शिक्षा ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा त्यसतर्फ समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बतायो ।
परीक्षा केन्द्रभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको हुन्छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षदेखि निरीक्षकसम्म सबैलाई यसबारे स्पष्ट निर्देशन दिइएको हुन्छ । तर, यस्ता घटनाले नियम कार्यान्वयनको अवस्था कमजोर रहेको देखाउँछ ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार प्रविधिको दुरुपयोग गर्दै प्रश्नपत्र बाहिर पठाउने प्रवृत्ति नयाँ होइन । तर, यसमा प्रत्यक्ष रूपमा केन्द्र व्यवस्थापनमै संलग्न व्यक्तिहरूको सहभागिता देखिनु अत्यन्त चिन्ताजनक विषय हो । यसले दीर्घकालीन रूपमा शिक्षा प्रणालीप्रति जनविश्वास कमजोर बनाउने उनीहरुको तर्क छ ।
सम्बन्धित निकाय र अधिकारीहरुले भने घटनालाई लुकाउन खोजेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले सहायक केन्द्राध्यक्ष पक्राउको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘यदि पक्राउ नै गरिएको रहेछ भने सम्बन्धित निकायबाट कारबाही गर्नु भनेर सिफारिस आउँछ होला । अरु विषय थाहा भएन,’ घुमाउरो भाषामा उनले भने ।
एसईई परीक्षा सञ्चालन र अनुगमनको मुख्य जिम्मेवारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाईले पनि यस घटनालाई ढाकछोप गर्न खोजेको छ । इकाईका मोरङ प्रमुख शालिग्राम दाहालले पक्राउको विषय आफूलाई थाहा नभएको बताए । ‘अहिले पनि म परीक्षाको अनुगमनमै छु । तर, सहायक केन्द्राध्यक्ष पक्राउको विषय मलाई थाहा भएन । अनुगमन गर्ने अरु पनि निकाय हुन्छन् । उनीहरुसँग म कुरा बुझ्छु,’ दाहालले भने ।
स्रोतका अनुसार परीक्षा सञ्चाल प्रणालीमा गम्भीर त्रुटि फेला परेपछि सम्बन्धित निकाय र अधिकारीहरुले घटनालाई लुकाउन खोजेका हुन् । प्रश्नपत्र बाहिर पठाइएको घटनाले अनुगमन अधिकारीहरुको भूमिका र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । ‘प्रश्नपत्र बाहिर पठाउनेलाई जोगाउन र कानुन अनुसार कारबाही नगर्न चलखेल भएको हुनसक्छ । अर्कोतर्फ अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने भएपछि घटनालाई लुकाउन खोजिएको होला,’ स्रोतले भन्यो ।



















