
विराटनगर । विराटनगरमा पछिल्लो समय सीटी सफारी चोरी हुने क्रम बढ्दै गइरहेका बेला प्रहरीले ठूलो सफलता हात पारेको छ ।
चोरी भएका सफारीहरु सिधै प्रयोगमा नल्याई कबाडी गोदाममा पुर्याएर बिक्री गर्ने गरेको पाइएको छ । कबाडीमा लगेर पार्टपूर्जा टुक्र्याई बिक्री गर्ने संगठित शैलीको गिरोह सक्रिय रहेको तथ्य बाहिर आएको हो ।
विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–६ सरौचियास्थित एउटा कबाडी गोदाममा प्रहरीले बिहीबार दिउँसो छापा मार्दा चोरीका सीटी सफारीका विभिन्न पार्टपूर्जा बरामद भएको छ । उक्त गोदाम स्थानीय विजय सहनीले सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले गोदाममा खानतलासी गर्दा प्लास्टिकजन्य कबाडीका सामानले छोपेर अत्यन्तै सावधानीपूर्वक लुकाइराखिएको अवस्थामा दुईवटा सिटी सफारीका पार्टपूर्जा फेला पारेको छ । प्रारम्भिक अनुसन्धानबाट चोरी गरिएका सफारीहरूलाई पूर्ण रूपमा नष्ट नगरी तिनका उपयोगी पार्टहरू छुट्याएर अलग–अलग रूपमा बिक्री गर्ने उद्देश्यले कबाडी गोदाममा पुर्याउने गरिएको पत्ता लागेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेका अनुसार विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सफारीहरु गोदाममा पुर्याउने गरिएको तथ्य खुलेको छ । ‘बरामद भएको पार्टपूर्जाबाट यो काम एक्लै नभएर योजनाबद्ध ढंगले संगठित भइरहेको संकेत गर्छ । यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको छ,’ उनले भने ।
प्रहरी स्रोतका अनुसार गोदाममा भेटिएका पार्टपूर्जाहरूको प्रकृति हेर्दा सीटी सफारीलाई पूर्ण रूपमा टुक्र्याएर पहिचान नै मेटाउने प्रयास गरिएको देखिन्छ । यसरी पार्टपूर्जा अलग्याएपछि सवारीसाधनको पहिचान गर्न कठिन हुने भएकाले चोरीका घटनामा संलग्न गिरोहले यही उपाय अपनाउने गरेको प्रहरीको अनुमान छ ।
गोदाम सञ्चालक विजय सहनी भने छापा हान्न प्रहरी आउँदै गरेको सूचना पाउनेबित्तिकै फरार भएका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । सहनीले चोरीका सफारी कति रकममा खरिद गर्थे, कस–कससँग सम्पर्कमा थिए र कुन सञ्जालमार्फत यस्तो कारोबार भइरहेको थियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय सीटी सफारी चोरीका घटनाहरू उल्लेख्य रूपमा बढ्दै गएका छन् । सफारी धनीले बारम्बार गुनासो गर्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको थियो । त्यही निगरानीकै क्रममा प्राप्त सूचनाले गिरोहसम्म प्रहरीलाई पुर्याएको हो ।
प्रहरीका अनुसार यो घटनाले सीटी सफारी चोरी व्यक्तिगत लाभका लागि हुने सामान्य अपराध नभई संगठित नेटवर्कमार्फत सञ्चालन भइरहेको गम्भीर आपराधिक गतिविधि भएको पुष्टि गरेको छ । चोरी भएका सपारीलाई सिधै बिक्री गर्न कठिन हुने भएकाले तिनलाई पार्टपूर्जामा विभाजन गरी छुट्टाछुट्टै बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीले बरामद गरेको सफारीका पार्टपूर्जाको प्राविधिक परीक्षण तथा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । सफारी चोरीमा संलग्नको पहिचानका लागि अनुसन्धानको दायरामा फराकिलो पारिएको डीएसपी लामिछानेको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले नागरिकलाई आफ्नो सवारीसाधनको सुरक्षामा थप सतर्कता अपनाउन आग्रह गर्दै शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन अनुरोध गरेका छन् । ‘यो घटनाले विराटनगरमा सक्रिय रहेको सफारी चोरी सञ्जालको गहिराइ देखाएको छ,’ एसपी कटवालले भने, ‘यस विषयमा व्यापक अनुसन्धान गरेर कारबाही अघि बढाइने छ ।’
























